सुत्केरीको उद्धार

दैलेखको दुर्गम ठाँटीकाँध गाउँपालिका वडा नं. ४ कि २९ वर्षीया झुप्री शाहीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्थानीय गैरा गाउँमा रहेको स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकी शाहीको दुई वटा बच्चा मध्ये एउटा बच्चा स्थानीय स्वास्थ्य संस्थामा सकुशल जन्मिएको र अर्को बच्चा जन्मन नसक्ने अवस्था भएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत सुर्खेतको कालागाउँ अस्पतालमा लगिएको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश बहादुर सिजापतिले जानकारी दिएका छन् । सुर्खेत अस्पतालमा उपचार पछि अर्को बच्चा पनि सकुशल जन्मिएको खबर पाएको सिजापतिले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि संघीय सांसद राजबहादुर बुढाले पहल गरिदिएको सिजापतिको भनाई छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल संघीय सांसद राजबहादुर बुढा र स्थानीय पालिकाको पहलमा उद्धार कार्य गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा खबर आउने बित्तिकै मन्त्रालयमा खबर गरेर सुत्केरी महिलाको उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
दुर्गम बस्तीमा गर्भवती अवस्थामा आउने विभिन्न समस्याबाट महिलाहरूको अकालमै मृत्यु हुनसक्ने भएकोले आपतकालिन सेवाका लागि सरकारले हेलिकप्टर मार्फत उद्धार गर्ने कार्य दैलेखको दुर्गमका लागि निकै प्रभावकारी भएको हरि प्याकुरेलले बताएका छन् । दैलेखका दुर्गम बस्तीका महिलाहरूलाई समस्या पर्ने बित्तिकै स्थानीय सरकार, नजिकैको प्रहरी वा जिल्ला प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ । गत महिना पनि एक जना महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार